फार्नबरो /युके -लोसार २१३६ मनायो

 

 

फार्नबरो /युके शेर्पा किदुगले ग्याल लो मे मो लाङ लोसार २१३६ फार्नबरोमा एक कार्यक्रम गरी भव्यतापूर्वक मनाएको छ ।
लामा गुरुबाट संग शेर्केम धारी लोसारको आगमनको प्रार्थना गरी सुरु गरिएको सो कार्यक्रमको दोस्रो चरणमा ब्ल्याक इथनिक माइनोरिटी अवार्डबाट सम्मानित हुनु भएका किदुगका उपसभापति तथा आशफोर्ड गोर्खा कम्युनिष्टीका अध्यक्ष गोम्वा शेर्पालाई किदुगका अध्यक्षले खादा ओढाई सम्मान तथा वधाई ज्ञापन गर्नु भएको थियो । उपाध्यक्ष गोम्वा शेर्पाले छोटो मन्तव्य दिदै ब्ल्याक इथनिक माइनोरिटीका बारेमा जानकारी गराउनुका साथै आफूलाई बधाई दिने आयोजक संस्था लगायत सबैलाई धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा लण्डन स्थित नेपाली राजदुतावासका मिनिष्टर काउन्सिलर तथा का.वा. राजदुत झविन्द्रप्रसाद अर्यालले लोसारका अवसरमा शुभकामना व्यक्त गर्दै समसामयिक विषयमा मन्तव्य समेत प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा तमुधी युकेका अध्यक्ष सुवाससिंह गुरुङ्ग, तमु प्हेल्हु संघका जगत तमु, हृयोल्मो सोसाइटीका अध्यक्ष सानो लामा, किरात याक्थुम चुम्लुङ्ग युकेका कोषाध्यक्ष तिल विक्रम सम्वाहाम्फे, तामाङ्ग समाज युके, बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका काजि शेर्पा, किदुगका सल्लाहकार आङ फुला शेर्पा, डा ङवाङ शेर्पा, पेम्वा लामालगायत अतिथिहरुको उपस्थिति थियो ।
संस्थाका कार्यकारी सदस्य निम तेन्जी शेर्पाले कार्यक्रममा सहभागी अतिथि तथा सम्पूर्ण नेपालीहरुलाई स्वागत गर्नु भएको थियो । किदुगका महासचिव रिन्जी शेर्पाले सञ्चालन गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि अर्यालले संस्थाका आजीवन सदस्यहरुलाई ब्यानर र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष आङ कल्जङ लामाले विभिन्न जातिहरुको संस्कृति संरक्षणको लागि वेलायतमा नेपाली संस्थाहरु गठन भएतापनि यसले एकता कायम हुनुको सट्टा विभाजन भएको बताउनु भयो । उहाँले नेपालीहरु एक सुत्रमा एकतावद्ध भई वेलायती समाजमा आफ्नो संस्कृतिको संरक्षण गर्दै एकीकृत हुनको साथै नेपालीलाई इथनिक माइनोरीटीमा समावेश गराउनका लागि भईरहेको प्रयासलाई सबै संस्थाका प्रमुखहरुले गहिरिएर सोच्न पर्ने आवश्यकता रहेकोमा जोड दिनु भयो ।
उहाँले नेपालमा संविधान लेख्न सुझाव पठाउने, एनआरएनको परिभाषालाई सही अर्थमा परिभाषित गर्नु पर्ने तथा केन्द्रीकृत संरचनालाई विकेन्द्रीकरण गर्नुपर्ने र नेशनल लेभलमा संघीय रुपमा अगाडि बढाउनु पर्ने बारेमा विचार राख्नु भएको थियो ।
कार्यक्रममा 'आयो है लोसार' वोलको गीतमा प्रस्तुत गरिएको नृत्यले दर्शकहरुलाई नेपालमै लोसार मनाएको अनुभुति गराएको थियो । कार्यक्रम प्रस्तुत अन्य सांस्कृतिक कार्यक्रमले पनि त्यत्तिकै रौनक थपेको थियो
भने सो कायक्रममा  यु के निवासी  बिभिन्न शेप्ि कलाकारहरुले भाग लिएका थिए ,  .सांस्कृतिक कार्यक्रमको सञ्चालन चाँद लामा तथा पेमा लामाले  गर्नु भएको थियो ।
राफल तथा सामुहिक नाचगानको समेत आयोजना गरिएको सो कार्यक्रममा डिजे तथा खाना व्यवस्थापन सपन इण्टरप्राइजेजले गरेको थियो । यो वर्षको लोसारको आयोजना आङ कालजाङ लामा, आङ माया लामा, चाँद लामा, जाङमु लामा, दावा छिरिङ शेर्पा, पासाङ शेर्पा तथा पाशि शेर्पाले गर्नु भएको थियो ।