|
२५ चैत्र (मनोज श्रेष्ठ, शेर्पा वर्ल्ड डट् कम्) - एकै बर्षमा सोलुखुम्बु सदरमुकाम सल्लेरीमा दुई पटक भिषण आगलागी भएको छ । बैशाख ५ गते नयाँ बजारमा भिषण आगलागी भई नयाँ बर्षको रुपमा शुरुवात् भएको २०६७ को अन्त्यमा सल्लेरीमा भिषण आगलागी भएको हो । बिहिबार राती सल्लेरीमा भएको आगलागीमा करीब एक दर्जन घरमा क्षति पुगेको छ । आठ घर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने आगो नियन्त्रण लिने क्रममा केही घर भत्काइएको छ ।
बिहिबार राती करीब साँढे १० बजेतिर आगलागी
शुरु भएको थियो । सल्लेरीको मध्य भागमा आगलागी भएकोले त्रसित भएका थिए । आगो नियन्त्रणमा लिन हजारौं सर्वसाधारणका साथमा सेना, प्रहरी, कर्मचारी सल्लेरीमा भेला भएका थिए ।
सल्लेरी स्थित शान्ती रेष्टुरेण्टवाट आगो लागेको आशंका गरिए पनि आगो कहाँवाट कसरी शुरु भयो भन्ने बारेमा केही खुलेको छैन । आगलागीवाट शान्ती रेष्टुरेष्ट रहेको शान्ती उदासको घरका साथमा सुनिल कार्की, पदम राजभण्डारी लगायतका घर पुर्ण रुपमा जलेको छ । यसै गरी नेपाल पत्रकार महासंघका अध्यक्ष नारायणकुमार श्रेष्ठ र गेलु शेर्पाको पसल रहेको घर पनि नष्ट नभएको छ । रचना स्टोर्सका साथमा पदम राजभण्डारी र सुनिल कार्कीको घरको बीचमा रहेको घर पनि जलेर नष्ट नभएको छ ।
आगोले सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्माको घरमा क्षति पुगेको छ । आगलागीकै कारण उद्धकुमार शर्मा र शान्ती रेष्टुरेण्टको बीचमा रहेको अर्को एक घर पनि जलेर नष्ट नभएको छ । आगलागीवाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।
आगो नियन्त्रणमा लिने क्रममा घर भत्काउन स्काभेटरको समेत प्रयोग गरिएको थियो । आगो फैलन डरले सल्लेरी बजारको अधिकांश घर तथा पसलको सामानहरु विभिन्न स्थानमा सारिएको थियो । तर आगोले जलेर नष्ट भएका घरहरुमा अधिकांश सामान समेत जलेर नष्ट भएकाछन् ।
आगो नियन्त्रणमा लिने क्रममा सोलु एफएममा कार्यरत सञ्चारकर्मी उमेश श्रेष्ठ गम्भिर घाइते भएकाछन् । काठ पन्छाउने क्रममा जलिरहेको घरवाट ढुंगा झर्दा श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेको हो । उनलाई उपचारका लागि सोलु अस्पताल फाप्लु लगिएको छ । आगो नियन्त्रणमा लिने क्रममा अन्य दर्जनौ घाइते भएकाछन् ।
आगलागीका कारण सल्लेरी च्याल्सा विद्युत कम्पनी, योङ्ग स्टार केबुल टेलिभिजन, नेपाल टेलिकम लगायतको पनि लाखौंको क्षति भएको छ । योङ्ग स्टार केबुल टेलिभिजनको सेवा सल्लेरी तथा फाप्लुमा अबरुद्ध भएको छ भने नेपाल टेलिकमको ल्याण्ड लाइन फोन सेवा पुर्ण रुपमा अवरुद्ध भएको छ । |